हाम्रा गुरुहरू

गृहपृष्ठ

/

हाम्रा गुरुहरू

स्वामी कमलनयनाचार्य श्रीजी महराज (श्री मुक्तिनाथबाबा)

श्रीकृष्णा गण्डकीको तटवर्ती पवित्र गाउँ धानस्वाँरा लहरे पिपल बाग्लुङमा उत्तम ब्राह्मण कुलीन विद्वद्वरेण्य पं ज्यो. श्रीमान् जयनारायण आचार्यज्यू एवं संस्कारयुक्ता ममतामयी श्रद्धेया माता श्रीमती कौशल्या देवीज्यूका पुत्र रत्नका रूपमा २०२३ ज्येष्ठ ११ गते यस धराधाममा आविर्भाव हुनुभएका श्रद्धेय श्रीमुक्तिनाथ बाबा नेपाली माटोका तीर्थहरूलाई माया गर्ने, राष्ट्र र राष्ट्रिय संस्कृतिका उपासक, आश्रम, मठ, मन्दिर, अन्नदानक्षेत्र, वेद विद्याश्रम, गुरूकुल, धर्मशाला, गोशाला, स्वास्थ्यकेन्द्र आदि धार्मिक एवं सामाजिक सेवामुखी अनेकौं संघ-संस्थाहरूका संस्थापक, प्रकाशक तथा प्रचारक हुनुहुन्छ । नेपाल आमाका वरदपुत्र, शतक्रतु विजयी, गर्गाचार्य-कुलभूषण, श्रद्धेय बाबाज्यूले वै.वा. अनन्तश्रीविभूषित श्रीश्रीनिवास मुक्तिनारायण रामानुज यतिराज षडाचार्य ( श्री श्रीधराचार्य) स्वामीज्यू महाराजका कृपाबाट श्रीसंप्रदायमा दीक्षित भई स्वाचार्य श्रीस्वामीज्यूबाट र अन्य नेपाल तथा भारतका धर्माचार्य एवं विशिष्ट विद्वान् गुरूवर्गहरूबाट साधना अनुष्ठान पूर्वक सम्पूर्ण पौरस्त्य वाङ्मयको ज्ञान हासिल गर्नु भएका श्रद्धेय श्रीस्वामीज्यू महाराज वि.सं. २०४१ सालमा प्रथम पटक श्रीदामोदर कुण्डको यात्रा गरी सोही क्षेत्रका गुफाहरूमा तपस्या गर्दै ३ महिना पछि श्रीमुक्तिनाथ आइपुग्नु भयो । ३६ दिनसम्म त्यहीँ मुक्तिनाथ मन्दिरभित्र रहेर अनुष्ठान गरी पुनः आचार्यश्रीको दर्शन गरेर जीव, प्रकृति र ईश्वरलाई बुझ्ने प्रयासमा दक्षिण भारतका दिव्य देशहरूको दर्शन गर्दै वेङ्कटाचल पर्वत, लगायत श्रीबद्रिनाथ धामका भृगुगुफा आदि कैयाँ एकान्त कन्दराहरूमा कहिले सामान्य फलहार मात्र ग्रहण गरेर त कहिले जल मात्र पिएर तपस्या गर्दै अत्यन्त वैराग्यपूर्ण दिनचर्या व्यतित गर्दै जप र आराधनाबाट दुब्लो पातलो शरीर लिएर आचार्यश्रीको दर्शन गर्न जाँदा धर्म, समाज र राष्ट्रको सेवामा प्रवृत्त हुने आज्ञा पाएर वि.सं. २०४८ सालमा मुक्तिनाथको ज्वालामुखिबाट दीप लिएर त्रिवेणीधाममा अखण्डदीप प्रज्वलन गरी १२ वर्षसम्म नित्य हवन गर्ने सङ्कल्प लिई नेपालका देवस्थल, तीर्थस्थल, धार्मिक एवं पर्यटकीय स्थलहरूको विकास, प्रचार- प्रसार तथा पौरस्त्य वाङ्मयको पुनर्जागरण गर्ने उद्देश्यले विभिन्न समयमा नेपालका देवस्थल तीर्थस्थल तथा प्रमुख सहरहरूमा पञ्चमहायज्ञ, सप्तमहायज्ञ एवं १०८ ठाँउमा श्रीविश्वशान्ति मुक्तिनाथ १०८ विराट् महायज्ञ गरी विभिन्न समयमा पर्यावरण संरक्षणको जनचेतना अभिवृद्धि गर्दै पवित्र देवनदीहरूको सम्मान र संरक्षणका निम्ति जनजागरणका धार्मिक कार्यहरू व्यापक रूपमा गर्न थाल्नु भयो । यस कार्यलाई संस्थागत रूपमा अगाडि बढाउनु पर्ने महसुस गरी २०५७ सालमा राष्ट्रका विशिष्ठ व्यक्तित्वहरूलाई साथमा लिई ‘अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटवल ट्रष्ट” एवं “नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति” दर्ता गरी संस्थागत रूपमा कार्य अगाडि बढाउनुभयो । श्रद्धेय स्वामीज्यू महाराजबाट मुस्ताङ जस्तो हिमालपारिको जिल्ला भनेर चिनिने नेपालको अति विकट क्षेत्रमा साधन, श्रोत र तत्कालीन देशको वातावरण सहज नहुँदा पनि मुक्तिक्षेत्रको दर्शनका लागि आउने तीर्थयात्रीहरूको स्वास्थ्य र सुविधाका लागि स्वास्थ्यचौकी, निःशुल्क आवास र भोजनसहितको अन्नदानक्षेत्र, धर्मशालाआदि सञ्चालन गर्नुभयो । जुन पुनित कार्यबाट लाखौं जनसमुदाय लाभान्वित भइरहेको छ । वैदिक वाङ्मय, संस्कृत शिक्षाको संरक्षणार्थ विभिन्न स्थानमा वेदविद्याश्रम, कन्या गुरूकुलम् आदिको स्थापना गरी सञ्चालन गर्नुभएको छ । यसरी धार्मिक, आध्यात्मिक तथा सामाजिक कार्यका माध्यमबाट राष्ट्र र समाजको सेवा तथा वैदिक सनातन धर्मको रक्षामा समर्पित श्रीस्वामीज्यू महाराज वर्तमान समयमा राष्ट्रकै एक विशिष्ट धर्मसंवाहक, शिक्षा संवाहक, सेवा संवाहक, स्वास्थ्य संवाहक र मातृशक्ति उत्थापकका रूपमा परिचित हुनुहुन्छ । वि.सं. २०५४ मा श्रीमुक्तिनाथ धाममा तथा वि.सं. २०५६ सालमा नेपालका आचार्य विद्वद्समाजबाट श्रीमुक्तिनाथ महोत्सवका अवसरमा श्रीमुक्तिनाथपीठाधीश्वरको रूपमा महाभिषेक, पुनः २०५७ सालमा भारतको इलाहवादमा सम्पन्न कुम्भ मेलामा आयोजित नेपाल भारतका प्रसिद्ध जगद्गुरू सन्त महन्त, महापुरूषहरू सम्मिलित धर्मसभाद्वारा मुक्तिनाथ पीठाधीश्वरको रूपमा पट्टाभिषेक गरिएको थियो । नेपाल भारतका विभिन्न विशिष्ट संघ-संस्थाहरू, नागरिक समाज, विद्वत्समाज आदिबाट विविध समयमा हजारौँ सम्मान, अभिनन्दन तथा पुरस्कारहरूबाट श्रद्धेय श्रीमुक्तिनाथबाबाज्यू सम्मानित हुनुहुन्छ ।

स्वामी श्रीकृष्ण प्रपन्नाचार्य श्रीजीमहाराज

स्वामी श्रीऋषि प्रपन्नाचार्य

आचार्य स्वामी श्रीवासुदेव कौण्डिन्य